फागुन ६, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएपछि आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको बैठकमा आउँदो १६ गतेभित्र एमसीसी सम्झौता अनुमोदन गर्नका लागि अनुरोध गरेका थिए । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।
अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ । प्रधानमन्त्री देउवाले बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजसम्मका लागि स्थगित गर्न आग्रह गरेका थिए ।
