उदिपुर- मार्कीचोक- भरतपुरको प्रसारणलाइन निर्माण ५० प्रतिशत सकियो

Byपहिलो सुचना

२०७८ फाल्गुन २, सोमबार १५:४२ २०७८ फाल्गुन २, सोमबार १५:४२ २०७८ फाल्गुन २, सोमबार १५:४२

फागुन २, लमजुङ । लमजुङमा मर्स्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर-मार्कीचोक-भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सकिएको छ ।

विविध कारणले निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण काम बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताए । 

लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्ने रेग्मीले जानकारी दिए ।

उनका अनुसार प्रसारण लाइनका लागि १ सय ९३ वटा टावर आवश्यक पर्नेछ । यीमध्ये हालसम्म १८ टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ ।

‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउनका लागि ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ’, उनले भने ‘उदिपुरदेखि मध्य-मर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाइएकाले आजदेखि तार तान्ने कार्य भइरहेको छ ।’

उनका अनुसार तार तान्ने काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ । ६ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोनाको महामारीमा निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको उनले बताए । 

आयोजनाका अनुसार ६ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ । पैँतालिस टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० टावर उठाउने काम भइरहेको छ । 

अठार वटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मर्स्याङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ । आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ । त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सवस्टेसन पनि निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ । 

दुई सय २० केभीको उक्त आयोजनाको निर्माण कार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीले बताए ।

‘उक्त सम्झौताअनुसार तीन वर्ष नाघेपछि थप गरिएको समयावधि पनि सकिन दुई-तीन महिना मात्र बाँकी रहेको छ’, उनले भने ‘अझै निर्माण अवधि थपिने भएको छ ।’ 

सो प्रसारण लाइन चाइना कम्पनी चिन्जा गुप्रले निर्माण गर्दै आएको छ । रेग्मीका अनुसार आयोजना सम्पन्न गर्न पौने तीन अर्ब रूपैँया लाग्ने अनुमान गरिएको बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook