माघ २१, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।
त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक डुबेका थिए ।
अभिभावकले बालकलाई खोज्ने क्रममा: अचेत अवस्थामा डुबिरहेका भेटेपछि उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ ।
उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । (रासस)
