तत्काल दूधको मूल्य बढाउन किसानको माग

Byपहिलो सुचना

२०७८ माघ १७, सोमबार १०:३१ २०७८ माघ १७, सोमबार १०:३१ २०७८ माघ १७, सोमबार १०:३१

माघ १७, चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।

दूधको मूल्यमा प्रतिलिटर रु. १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए । सरकारले एक लिटरमा रु. १० मूल्य बढाएर किसानलाई रु. सात र डेरी उद्योगीलाई रु. तीन दिने तयारी गरेको बताइएको छ ।

उनका अनुसार हाल दूधको मूल्य किसान सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए । अध्यक्ष न्यौपानेले भने, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु. ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook