माघ १३, सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् । हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदुर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा बारा जिल्ला कोल्हभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्धर गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ ।
आज करिब ४/५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदुर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ ।
घटनामा परेका अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए । हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामग्रीका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ ।
सुरुङ मार्गभित्र मानिसका साथै निर्माण सामग्री ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ । (रासस)
