माघ १२, काठमाडौं । आज बिहान ९ बजेदेखि राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान दिउँसो तीन बजेसम्म चल्नेछ ।
फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान भएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य गरी कूल २०२५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन् ।
चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।
