माघ ६, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज (बिहीबार) बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
यो प्रणाली सबै सार्वजनिक तथा निजि, (चार पाङ्ग्रे र दुई पाङ्ग्रे)मा लागू हुनेछ । औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधनमा भने यो आदेश लागू हुने छैन ।
यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्कको प्रयोग, सेनिटाइजरको व्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने प्रशासनको आदेशमा उल्लेख छ ।




