प्रधानमन्त्री रोजगार कार्यक्रममा श्रमिकको ज्याला बढ्यो, अनिवार्य बीमा

Byपहिलो सुचना

२०७८ माघ ६, बिहीबार ०७:५६ २०७८ माघ ६, बिहीबार ०७:५६ २०७८ माघ ६, बिहीबार ०७:५६
Primeminister employment program

माघ ६, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साताको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्य बीमा कार्यान्वयनमा आउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिको निर्णय कार्यान्वयन हुने जानकारी दिए ।

कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई दिने गरिएको रोजगारीको पारिश्रमिक कम भएको भन्ने गुनासो स्थानीय तहबाट आएपछि निर्देशिका संशोधनको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको थियो ।

अब मन्त्रालयले तोकेको दैनिक ज्यालादर ५७७ रुपैयाँ न्यूनतम पारिश्रमिकभन्दा कम हुने छैन । स्थानीय तहको दररेटमा ८० प्रतिशतमा कम नहुने गरी भुक्तानी गर्नुपर्नेछ । गत साउनदेखि सरकारले बढाएको न्यूनतम ज्यालाको दरअनुसार ज्यालादर निर्धारण गरिएको घिमिरेले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सहभागी भएका बेरोजगार युवाले दैनिक ५१७ रुपैयाँ ज्याला पाउँथे । चालु आवदेखि दैनिक ६० रुपैयाँ ज्याला बढेको छ । निर्देशक घिमिरेका अनुसार निर्देशिकामा श्रमिकको पारिश्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको दरमध्ये जुन बढी हुन्छ, सोही आधारमा निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले गत साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ तोकेको छ । यो व्यवस्थाअनुसार श्रमिकले दैनिक ५७७ रुपैयाँ ज्याला पाउँछन् । अघिल्लो वर्ष सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ मात्र तोकेको थियो ।

पाँच लाखको सामूहिक दुर्घटना बीमा

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाएका श्रमिकको पाँच लाख रुपैयाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था लागू गरेको हो ।

नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका १०० दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा लागू हुनेछ ।

निर्देशिकाअनुसार श्रमिकको बढेको ज्याला र बीमा चालु आर्थिक वर्षबाट लागू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बीमाका लागि चालु आवमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । गत आवमा बीमाका लागि एक करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

श्रम मन्त्रालयका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा देशभरबाट सात लाख ४३ हजार ८१ हजार युवा बेरोजगार सूचीमा सूचीकृत भएका छन् । यो संख्या गत वर्ष नै प्रधानमन्त्री रोजगारका कार्यक्रममा आबद्ध हुनका लागि आवेदन दिएका बेरोजगारको हो । चालु आवमा रोजगार कार्यक्रमका लागि सरकारले १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook