माघ ५, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गरिने बताएका छन् ।
“अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।”
सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ । (रासस)

