आठ महिनापछि काममा फर्किए बेनी अस्पताल निर्माणका ठेकेदार

Byपहिलो सुचना

२०७८ पुष ३०, शुक्रबार १५:४३ २०७८ पुष ३०, शुक्रबार १५:४३ २०७८ पुष ३०, शुक्रबार १५:४३

पुष ३०, म्याग्दी । म्याग्दीको बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् ।

सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी, प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । 

‘चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन्’, उनले भने, ‘दैनिक ३०/३५ मजदूरले काम गर्न थालेका छन् । अब भवन निर्माणले पूर्णता पाउने आशा पलाएको छ ।’ 

वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो ।

चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चारतले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो ।

सघन सहरी तथा भवन डिभिजन कार्यालयका इञ्जिनियर वीरबल सुनारले हालसम्म भवन निर्माणको काम साठी प्रतिशत पुगेको बताए ।

सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना संक्रमणका कारण आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् थपिएको म्याद गत मंसिर  २० गते सकिएको छ ।

ठेक्का लिने महादेव खिम्तीका सञ्चालक रवि सिंह निर्माण व्यवसायी महासङ्घका अध्यक्ष पनि हुन ।  

तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन् ।

कार्यालयले निर्माण व्यवसायीको घरौटी जफत गर्न बैंकलाई र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न चेतावनीसहितको पत्र पठाएको थियो ।  

साझेदारीमा काम गरेका तीन वटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको थियो ।

भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले बताए ।

‘पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,’ उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ 

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ ।

आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना गरिएको छ । 

पन्ध्र शय्या क्षमताको अस्पताल २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीले पुरानो भवन भत्काउन, रूख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरू गर्न पाएको बताए ।  

साझेदारी गरेका तीन वटा निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको छ ।

अदालतको आदेशअनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ । मजदूर, आपूर्तिकर्ता र सहायक निर्माण कम्पनीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook