जाजरकोट–जुम्ला सुरुङमार्ग : सम्भाव्यता अध्ययनका सुरु

Byपहिलो सुचना

२०७८ पुष २०, मंगलवार ०८:२० २०७८ पुष २०, मंगलवार ०८:२० २०७८ पुष २०, मंगलवार ०८:२०

पुष २०, जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ ।

सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । “सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो”, उनले भने, “जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।”

जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए । “हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौँ”, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भने, “सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।”

जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । “यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ”, उनले भने, “विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook