पुष १५, काठमाडौँ । हेलम्बु क्षेत्रको हिमाली भेगको पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको १६ जनाको टोली हिउँमा फसेको छ । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको छ ।
हिउँबाट ज्यान जोगाउन उनीहरू ओडारमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । खराब मौसमका कारण उनीहरूको उद्धारका लागि हेलिकोप्टर जान सकेको छैन ।
टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार फोन मार्फत आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिएका छन् । टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको उनले फोनमा बताए । उनका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको छ ।
गत असार र साउनमा उक्त स्थानबाटै हिमपहिरो बगेर हेलम्बु र मेलम्ची क्षेत्रमा धनजनको ठूलो नोक्सानी गरेको थियो । पहिरोले मेलम्ची खानेपानीको मुहानलाई क्षति गरेकाले एडीबी टोली त्यसको अध्ययनका लागि एक साताअघि त्यता गएको थियो । एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता हो ।
टोली हिउँमा फसेको जानकारी पाएपछि खानेपानी मन्त्रालयले रक्षा र गृह मन्त्रालयलाई उद्धारका लागि अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले आफूले उद्धारका लागि रक्षा र गृहलाई अनुरोध गरेको बताइन् । ‘रक्षा सचिवलाई उद्धारमा सहयोग गर्न भनेकी छु,’ उनले भनिन् । हिमपातका कारण समस्यामा परेको टोली राति अबेरसम्म कुन अवस्थामा कसरी बसेका छन् भन्ने यकिन जानकारी नभएको उनले बताइन् ।
