दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

Byपहिलो सुचना

२०७८ पुष २, शुक्रबार १०:०४ २०७८ पुष २, शुक्रबार १०:०४ २०७८ पुष २, शुक्रबार १०:०४

पुष २, चितवन । कुखुराको दानाका लागि आवश्यक कच्चापदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ । गत वर्ष प्रतिकिलो रु. ७२ हाराहारी पर्ने भटमास हाइब्रो अहिले रु. १२० प्रतिकिलो परेको छ । यसैगरी सामान्य भटमास रु. ११० पर्ने गरेको छ । जुन गत वर्ष रु. ६२ प्रतिकिलोमात्रै थियो ।

मकै रु. ३२ बाट बढेर रु. ३८ पुगेको छ । तेल रु. १६० प्रतिलिटरबाट रु. २४२ पुगेको छ । पोखरेलका अनुसार ढुटो रु. २८ बाट ३३ पुगेको छ । मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ । यसैगरी रु. ५० पर्ने डिसीपी रु. १२० प्रतिकिलो पुगेको छ । भिटामिन, मिनिरल्स, औषधिमा पनि ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएको उनको भनाइ छ ।

कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य केही बढे पनि लागत मूल्य पाउनै मुस्किल रहेको उनले जानकारी दिए । पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहेका पोखरेल यसबाट कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएको बताउँछन् । उनले भने, “एकातर्फ दानाको मूल्य बढ्यो, अर्काेतर्फ पोल्ट्रीजन्य उत्पादनको मूल्य घटेको छ, जसले गर्दा किसान मारमा परेका छन् ।”

किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चापदार्थका कारण दानाको लागत मूल्य बढेको बताउँछन् । पोखरेल समूहको नवलपरासीमा तीन लाख हाराहारी कुखुरा रहेका छन् । दानाको मूल्य बढ्दा लागत बढेको तर त्यसैअनुसारको अण्डा र मासुको मूल्यवृद्धि हुन नसक्दा समग्र किसान प्रभावित भएको उनको भनाइ छ । दानाको कच्चा पदार्थको मूल्यवृद्धिलाई आफूले अस्वाभाविकरूपमा लिएको उनले बताउँछन् । उनले भटमास र मकैमा लाग्ने कृषि सुधार शुल्क शून्यमा झार्न सकेमा केही लागत घट्ने जानकारी दिए ।

नेपाल दाना उद्योग सङ्घका पूर्वध्यक्ष डा. तिलचन्द्र भट्टराई भारत, ब्राजिल, दक्षिण अमेरिकी देशहरूबाट भटमासको पिना आउने गरेकामा कोभिडसँगै विभिन्न खालका समस्या देखिएर ल्याउन कठिन भएको बताउँछन् । भारतमा मकै र भटमासको उत्पादन घटेको भन्दै उनले मकै बङ्गलादेशबाट आउने गरेकामा ल्याउन कठिन भएको बताए । तेस्रो मुलुकमा सामान पाए पनि कन्टेनर नपाउँदा समस्या आएको भट्टराईको भनाइ छ ।

डा. भट्टराईले भने, “कोभिडले अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल भत्किएको छ, जसले मूल्यवृद्धि गरायो ।” भारतमा मकै, भटमासजस्ता वस्तुको उत्पादन घटेको र तेस्रो मुलुकबाट सामान आयात गर्न समस्या भएपछि मूल्यवृद्धि भएको उनको भनाइ छ । दानामा ढुटो, डिओसी, तोरीको पिना, मिनिरल, भिटामिन, क्याल्सियमका स्रोतहरू आवश्यक पर्दछ । ती सबैको मूल्यमा वृद्धि भएको उहाँले जानकारी दिए ।

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भटमासको पिना नयाँ आउने बेलामा अस्वाभाविक मूल्यवृद्धि भएको बताउँछन् । अहिले दानाको लागत मूल्यमा प्रतिकेजी रु २१ हाराहारी मूल्यवृद्धि भएको छ । यद्यपि व्यवसायीहरूले प्रतिकिलो रु. ५.५० देखि ६.५० सम्म बढाएको उनले भनाइ छ । आर्थिक वर्ष २०७४/७५ सम्म बाहिरी देशबाट भटमासको पिना र मकै ल्याउँदा १.६ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेकामा त्यसयता मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको उनले बताए । यसले गर्दा दानामा प्रतिकिलो रु चार बढेको पुरी बताउँछन् । हाल दानाको मूल्य रु. ६० देखि ८० सम्म प्रतिकिलो पर्ने गरेको छ ।

विश्वभर कृषि क्षेत्रमा बाह्य देशबाट आउने कच्चा पदार्थमा शून्य प्रतिशत शुल्क लाग्ने भए पनि नेपालमा सरकारले यसतर्फ ध्यान नदिँदा आफूहरु प्रभावित भएको उनको भनाइ छ । सबैभन्दा धेरै खपत हुने भटमासको पिना ९९ प्रतिशत र मकै ७५ प्रतिशत विदेशबाट आयात हुने गर्दछ । पुरीका अनुसार गत साल रु. ३३ अर्ब हाराहारीको मकै र भटमास भित्रिएको थियो । यस वर्ष रु. ४० अर्बभन्दा बढी आयात हुने अनुमान गरिएको छ । पोल्ट्रीका लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भए पनि यसको उत्पादन भने आत्मनिर्भर छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook