मङ्सिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री एवम् पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले सुरूआतदेखि अग्रता लिएकाे पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म ३२८२ मत गणना सकिएको छ । जसमा हालसम्म देउवाले १५५६ मत प्राप्त गरेका छन् । त्यस्तै, उनलाई पछ्याउदै अर्का उम्मेद्वार शेखर कोइरालाले ११९७ मत पाएका छन् । प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत पाएका छन् ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।
