म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार ओटा जलविद्युत् आयोजना निर्माण शुरु

Byपहिलो सुचना

२०७८ मंसिर २७, सोमबार १३:४१ २०७८ मंसिर २७, सोमबार १३:४१ २०७८ मंसिर २७, सोमबार १३:४१

मङ्सिर २७, म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२ दशमलव ८ मेगावाट क्षमताका चार ओटा जलविद्युत् आयोजना निर्माण शुरु गरिएका छन् । संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण शुरु गरेका छन् । 

थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । 

‘नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन्’, उनले भने, ‘दुई आयोजनाले पूर्वाधार निर्माण शुरु गरिसकेका छन्, थप दुई तयारीमा छन् ।’

गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ । आयोजनाका इञ्जिनीयर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण शुरु गरेको जानकारी दिए ।

गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ । बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ । मालिका–७ बिम र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । 

धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले बिमको शिवरात्री खोलादेखि भारबाङ, कल्लेनी, छहरीहँुदै बाँसबोटसम्म करीब पाँच किलोमिटर पहुँचमार्गको ट्याक खोलिसकेको जानकारी दिए । 

धवलागिरि–४ मै भिजन हाइड्रो प्रालिले ५७ दशमलव ३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी शुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माणअघि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताए ।

आयोजना निर्माणका लागि ठेक्का आह्वान गर्न टेण्डर डिजाइन, निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिसकेको उनले बताए । अप्पर हाइड्रोपावर प्रालि काठमाडौंले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३ दशमलव ५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ । 

बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम गरिरहेको आयोजनाले प्रशारण लाइन पुगेपछि बाँध, सुरुङ र विद्युत्गृह निर्माणलाई तीव्रता दिने जानकारी दिएको छ । कल्लेनी हुँदै आयोजनाको बाँध निर्माणस्थल खाम्ला जोड्ने पहुँचमार्ग निर्माण भइरहेको छ । 

धवलागिरि–४ मुदीको खाम्ला नजिकै बाँध र मालीका–७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसाल्ने कम्पनीले जानकारी दिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook