प्रदेश २ मा कांग्रेस महाधिवेशन अनिश्चित

Byपहिलो सुचना

२०७८ मंसिर १९, आईतवार १६:४८ २०७८ मंसिर १९, आईतवार १६:४८ २०७८ मंसिर १९, आईतवार १६:४८

मङ्सिर १९, वीरगञ्ज । नेपाली कांग्रेसको प्रदेश नम्बर २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ।

हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो। 

प्रदेश नं २ का आठ वटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन्।

नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन।

मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिए।

सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन।  

प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्ने छन्।

निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामावली  समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ। 

जनकपुरधाममा रामजानकी विवाह महोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मंसिरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ।

निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आज पार्टी उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता जनकपुरमा छलफलमा जुट्दै छन्। 

छलफलपछि औपचारिक रूपमा निर्वाचन प्रक्रियाबारे  सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी  दिए। यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook