मङ्सिर १४, पेरिस । पीएसजीका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले सातौं पटक बालोन डी-ओर अवार्ड जितेका छन्।
बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै सन् मंगलबार बिहान उनले सन् २०२१ को बालोन डी-ओर अवार्ड हात पारेका हुन्।
पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसी यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका हुन्।
यस्तै लेवान्डोस्कीले गएको वर्ष च्याम्पियन्स लिग उपाधि जितेका थिए। तर क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै मेसीले उपाधि हात पारेका हुन्। लेवान्डोस्की दोस्रो र जोर्गिन्हो तेस्रो स्थानमा रहे ।
मेसीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९मा अवार्ड जितिसकेका छन्।
मेसीका सदाबहार प्रतिष्पर्धी क्रिष्टियानो रोनाल्डो भने यसपटक छैठौं स्थानमा रहे। रोनाल्डाले पाँचपटक बालोन डी-ओर अवार्ड जितिसकेका छन्।
पछिल्लो १३ वर्षमा मेसी र रोनाल्डोले मात्रै १२ पटक बालोन डी-ओर अवार्ड जितेका छन्। सन् २०१८ मा रियल म्याड्रिडका लुका मोडरिचले पहिलोपटक बालोन डीओर अवार्ड जितेका थिए ।
महिलातर्फको बालोन डी’ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे ।
बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे ।
इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे ।
क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।
हरेक वर्ष फ्रान्स फुटबल म्यागजिनले खेल कौशल, प्रदर्शन र फुटबल पण्डितको भोटका आधारमा एक जना उत्कृष्ट फुटबलरलाई बालोन डी-ओर अवार्ड दिँदै आएको छ। (एजेन्सी)
