पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔँ : ऊर्जामन्त्री भुसाल

Byपहिलो सुचना

२०७८ कार्तिक २८, आईतवार २०:५० २०७८ कार्तिक २८, आईतवार २०:५० २०७८ कार्तिक २८, आईतवार २०:५०

कार्तिक २८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब)ले आइतबार आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन् ।

‘विशेषज्ञ र सरोकारवालालाई अध्ययन गराएर कार्ययोजना बनाउने छु। त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ,’ स्वदेशमै उत्पादन भएको विद्युत् खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि मद्दत पुग्छ।’

जलवायु परिवर्तनको असरलाई कम गर्न पनि विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्ने उनले जोड दिइन्।

‘हिउँ पग्लँदै छन्। हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ। यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ,’ उनले भनिन्, ‘मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ। हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ।’

विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको उनको भनाई थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook