फाइजर खोप ९५% प्रभावकारी, ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Byपहिलो सुचना

२०७८ कार्तिक २७, शनिबार १०:०४ २०७८ कार्तिक २७, शनिबार १०:०४ २०७८ कार्तिक २७, शनिबार १०:०४

कात्तिक २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागले शुक्रवार आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।

फाइजर खोपको अभियान यही कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदैछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ ओटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए ।

उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरीद गरिने छ । उनले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताए । फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ । फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ । उनले १३२ देशले कोरोना विरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताए ।

उनका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ । खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook