कार्तिक २१, तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ ।
प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन रू. एक लाख ३५ हजार ५०० राजस्व संकलन गरेको हो । प्रहरीले गत बिहीवार दुईपाग्रे र चारपाग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको हो ।
मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिनेछ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गर्दा कारबाहीपर्नेमा अत्यधिकमात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिए ।
साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारबाही गर्दा उक्त रकम संकलन भएको उनले बताए । जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करीब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उनले बताए ।
कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहोर्याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई कडाइ गरिँदै आइएको छ ।
चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको संख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । (रासस)
