कालीगण्डकी गाउँपालिकाले गर्‍यो ५ लाखको सयपत्री फूल विक्री

Byपहिलो सुचना

२०७८ कार्तिक २०, शनिबार १६:४८ २०७८ कार्तिक २०, शनिबार १६:४८ २०७८ कार्तिक २०, शनिबार १६:४८

कार्तिक २०, स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले रू. पाँच लाख बाराबरको फूल विक्री गरेको छ ।

फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल विक्री गरेर गाउँपालिकाले रू. पाँच लाख आम्दानी गरेको हो ।

गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो । 

फूल विक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्‍याउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक शुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ ।’ काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए । 
 
किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताए । 

गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्‍याउन नकिएकाले आफूहरुलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताए । 

व्यावसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ । 

गाउँपालिकाले शुरु गरेको फूलखेतीबाट करीब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करीब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जानकारी दिएको छ ।

सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल विक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् । 

सयपत्री कर्मा ५५५ जातको फूल मंसिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल विक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार प्रतिमाला फुटकरमा रू. ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा विक्री भएको छ । फूलखेती गर्दा करीब रू. दुई लाख ४८ हजार खर्च भएको र रू. पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । 

यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जानकारी दिएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook