कात्तिक १६, पेरिस । कोभिड–१९ महामारीबाट विश्वभरमा ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुपेई प्रान्तको वुहान शहरबाट करीब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ४० लाख व्यक्तिको मृत्यु दर्ता भएको करीब चार महीनापछि दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।
विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करीब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजारभन्दा कम भएको छ ।
यद्यपी यूरोपमा दुई महीनायता पहिलो पटक कोभिड–१९ का संक्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीवार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् ।
रुसमा हाल संक्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक १ हजारभन्दा बढी भएको मृत्यु हुने गरेको छ । रुसमा कोरोना संक्रमणको कारण गत नोभेम्बर १ सम्ममा २ लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । (रासस/ एएफपी)
