कार्तिक १०, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन्।
बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा बुझाएको केही बेरमा प्रदेशप्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख यादव शर्मासमक्ष उनले राजीनामा बुझाएकी हुन् ।
विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न बसेको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ क मा भएको व्यवस्था अनुसार मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेको जानकारी दिइन्।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन्। मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्। अल्पमतमै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गर्दै उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएकी छिन्।
शाक्यले राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उनको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।
शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।
