कार्तिक ४, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ हुन् । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ।
बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा २१ च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार गाडी सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ । उनले शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको बताए । मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ ।
