सम्पादकीय

Byपहिलो सुचना

२०७८ श्रावण १, शुक्रबार १०:३८ २०७८ श्रावण १, शुक्रबार १०:३८ २०७८ श्रावण १, शुक्रबार १०:३८

नेपालमा २००७ सालमा नै राणा शासणको अन्त्य भएर प्रजातन्त्रको घोषण भए पनि सो प्रजातन्त्र राजनितिक अस्थिरता र विभिन्न खाले प्रतिक्रान्तिको कारणले दिर्घकालिन रुपमा टिक्न सकेनन् । प्रजातन्त्रिक व्यवस्थाको मुल मन्त्रको रुपमा लिने अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्र पनि राजनितिक परिवर्तन सँगसगै परिवर्तन हुदै गए । शासक वर्गको नियन्त्रण भन्दा बाहिर निस्कन नसकेको नेपाली सञ्चार जगत पनि प्रजातन्त्रको आगमन सँगै प्रष्फुटित हुनथालेको थियो । २००७ साल देखि २०१७ साल सम्म नेपाली सञ्चार जगतमा उल्लेख्य परिवर्तनहरु आए । करिब २ दर्जन भन्दा बढि प्रकाशन गृह तथा छापाखानाको स्थापना हुन पुग्यो । दैनिक अखबार, म्यागेजिन, मुखपत्र जस्ता माध्यमहरुबाट आम जनतालाई सुसुचित गर्ने अभियान सुरु भैसकेको थियो । निजि क्षेत्रबाट पत्रपत्रिका तथा म्यागजिनहरुको व्यावसायिक प्रकाशन सुरुवात भैसकेको थियो । तर २०१७ सालमा राजा महेन्द्रले गरेको जननिर्वाचित प्रतिनिधि सभाको बिघटन र निर्दलिय व्यवस्थाको पञ्चायती शासनले सबै क्षेत्रमा लगाम लगाउने कार्य पुन: सुरु भयो । भर्खरै हुर्किन थालेको प्रजातन्त्र शिशु अवस्थामा नै निमोठिन पुग्यो । फलता मुलुकमा निर्दलिय पञ्चायती शाससनको सुरुवात भयो । हरेक क्षेत्रमा राज्याको नियन्त्रण कायम हुनथाले । जसको असर नेपाली सञ्चार जगतमा देखा पर्यो। तत्कालीन राज्यको गुणगान गाउने पत्रपत्रिका मात्रै प्रकाशन गर्न सहज भयो र अन्य पत्रपत्रिकाहरु स्वत: बिलिन हुदै गयो ।
पञ्चयती शासन कालको ३० वर्षमा मिसन पत्रकारिताको सुरुवात हुनथाल्यो । एकखाले पत्रपत्रिकाले राज्याको खुलेर सकारात्मक सुचना मात्रै प्रकाशन गर्थे । राज्यको राम्रो चाकाडी गर्ने सञ्चार माध्यमलाई राज्यले आर्थिक सहयोग समेत गर्ने गरिन्थ्यो । तर शासक बर्गको खण्डन गरेको वा आलोचना गरेको व्यक्ति होस् वा राजनितिक दल अथवा सञ्चारगृह नै किन नहोस् राज्यले छानी छानी कारबाही गरेको हुन्थ्यो । अझ सञ्चार गृहलाई त सरकारको बिरोध गरेको समाचार छापेको पाए तुरुन्तै बन्द गर्नसक्ने खालको व्यवस्था समेत थियो, र राज्यले त्यहि गर्दे आईरहेको थियो । राजनितिक दल होस् वा सञ्चार क्षेत्र, नेपालमा स्वतन्त्र र प्रजातन्त्रको लागि सधै आवज उठाईरहे र राज्यले प्रतिवन्ध लगाएको अवस्थामा पनि पत्रकारहरुले लुकिछिपि पत्रपत्रिकाको प्रकाशन र विक्रिवितरण गर्ने गर्थे । राज्यको कतिपय राम्रो कामको प्रशंसा र नराम्रो कामको सधै बिरोध गरिरहे । तर सोहि बेलादेखि मुलुकमा मुलता दुई खाले पत्रकारिताको अभ्यास सुरु हुन पुग्यो। एकखाले समुह जसले राज्यलाई असफल देखाउन पत्रकारिताको सामन्य सिद्धान्त पनि ख्याल नगरी सरकार विरुद्ध समचार सामाग्रीहरुको प्रकाशन गर्थे भने अर्को खाले समुहले सधै राज्यको गुणगान मात्रै गरिरहे । यसरी लामो समयसम्म नेपाली पत्रकारिता जगत एक अर्काको विरुद्धमा लागिरहे र मुलुकमा मिसन पत्रकारिताको गतिलो बिकाश हुन पुग्यो ।
२०४७ सालको जनआन्दोलन सफल भए सँगै मुलुकमा प्रजातन्त्र र बहुदलिय व्यवस्थाको आगमन भयो । संविधानमा नै मौलिक हकको रुपमा अभिव्यक्ति स्वतन्त्र र प्रेस स्वतन्त्रको ग्यारेन्टी गरेको थियो । कसैले पनि बोलेको भरमा र कुनै कुरा छापेको भरमा कानुनी कारबाहि भोग्नु पर्दैन भनेर सुनिश्चित गरेको थियो । राजनितिक परिवर्तन सँगै पत्रकारिता जगतमा पनि उल्लेख्य परिवर्तन आउन थाल्यो । लुकिछिपि गर्ने पत्रकारिता व्यावसायिकता तर्फ प्रवेश गरे । नेपाली सञ्चार जगतमा निजि क्षेत्रले प्रवेश पायो । सोहि समयमा नै निजि क्षेत्रले पहिलो टेलिभिजन र रेडियोको पनि प्रसारण सुरुवात गरे ।
निजि क्षेत्रको आगमन सँगै नेपाली जनताले सुचना प्राप्त गर्ने माध्यममा थुप्रै विकल्पहरु आयो । निजि क्षेत्रले सरकारको कमिकमजोरिलाई केलाउने देखि खबरदारि गर्ने सम्मको पहरेदारको काम गर्दै आइरहे । २०५२ देखि २०६२ सालसम्म चलेको सशस्त्र आन्दोलनले नेपाली सञ्चार जगतले ठुलो मुल्य चुकाउनु पर्यो । राज्य र तत्कालिन बिद्रोही पक्षले गरि समाचार सामाग्री बनाएकै भरमा १७ जना भन्दा धेरै निर्दाेश पत्रकारहरुले ज्यान गुमाउनु पर्यो । कतिपय राज्यको बारेमा खण्डन गर्ने सञ्चार गृह तथा पत्रकारले जेल जानुपर्यो र कतिपयले ज्यानै समेत गुमाउनु पर्यो । तत्कालीन बिद्रोहीको बारेमा समाचार लेख्ने पत्रकारलाई सुराकीको आरोप लगाउदै वेपत्ता बनाउने देखि ज्यानै समेत गुमाउनु पर्यो। तत्कालिन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सञ्चार जगतले झन् धेरै कष्ठ सामना गर्नु पर्यो । सञ्चार गृहहरुमा सेना परिचालन गरेर सेन्सरसीप लागु गरे जसले समाचारको प्रशारण रोक्ने, राज्यको बिरुद्ध समाचार सामाग्री बनाउने र प्रसारण गर्नेलाई जेलमा हाल्ने, प्रसारण अनुमति खारेज गर्ने सम्मको गतिविधि गरेर संविधानमै मौलिक हकको रुपमा ग्यारेन्टी गरेको प्रेस स्वतन्त्र कव्जा गर्ने काम गरे ।
२०६२/०६३ को जनआन्दोलन–२ मा राजतन्त्रको बिरुद्धमा खुलेरै नेपाली सञ्चार जगत पनि लागे । सुचना र समाचारको माध्यमबाट आम नागरिकलाई राजतन्त्रको बिरुद्धमा र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागि हुन सुसुचित गरे । जनआन्दोलनको समाचारलाई पहिलो प्राथामिकतामा राखेर प्रसारण गर्ने देखि पत्रकारहरु समेत मोर्चाबन्दीमा कसेर आन्दोलनमा होमिए । आन्दोलन सफल भएसँगै आएको लोकतन्त्र र गणतन्त्र जोगाउनको लागि पनि नेपाली सञ्चार जगतले ठुलो भुमिका निभाउदै आईरहेको छ ।
गणतन्त्रको आगमन सँगै नेपाली सञ्चार जगतमा लगानीकर्ताको संख्या बर्खे भेल जसरी भित्रियो । सञ्चारगृहको संख्यामा उल्लेख्य वृद्धि भए पनि गुणस्तरमा प्रगती हुन सकेन । पत्रकारितालाई सजिलै कमाउने क्षेत्र ठानेर पत्रकारिताको सामान्या ज्ञान समेत नभएको जमातको प्रवेश हुन पुग्यो फलता नेपाली पत्रकारिता कुनै स्वार्थ समुहको पर्चाकारिता र राजनितिक दलको मुखपत्रको रुपमा रुपान्तर हुनथाले । स्वतन्त्रको नाममा पत्रकारिताको आधारभुत सिद्धान्तको समेत वास्ता नगरि समाचार सामाग्री बनाउने र प्रसारण गर्ने होडबाजी चल्न थाले । जसको फलस्वरुप आम जनता गलत सुचनाको सिकार हुन पुगे र सञ्चार जगतमाथि आम नागरिकको विश्वास र भरोसा हराउदै गयो । ७० को दशक पछाडि नेपाली सञ्चार जगतमा केहि सुधार आए पनि अझै व्यावसायिक रुपमा सहज तरिकाले जिविकोपार्जन गर्न सकिरहेको छैन । अझै पनि केहि सञ्चार गृहहरु भ्रष्टचार गर्ने केहि व्यक्ति, गैरकानुनी तरिकाले सम्पती आर्जन गरेको व्यापारी तथा राजनितिक दलको कालो धन व्यवस्थित गर्ने थलो बनेको देखिन्छन् । केहि पत्रकारहरु म पत्रकार हु भन्दै धम्कि दिएर आफ्नो रवाफ् छाड्दै पैसा असुल्दै हिड्छन अनि केहि चाँहि राजनितिक दलको सन्देश बोक्ने मुखपत्र जस्तो बनेर समाचार सामाग्री बनाउने गर्छन् । एक हातमा राजनितिक दलको सदश्य लिन्छन र अर्काे हातले पत्रकारीताको प्रमाणपत्र । यस्तो अवस्थाले गर्दा नै आज नेपाली सञ्चार जगत स्वतन्त्र हुन सकेका छैनन् , व्यावासायिक पत्रकारिता गर्न सकेको छैनन्, नेपाली पत्रकारिता क्षेत्रले आझैपनि पेसागत मर्यादा स्थापित गर्न सकेको छैन ।


यस्तो परिष्थितिमा नेपाली सञ्चार जगतमा रहेको बिकृति र बिसंगतीलाई निरुत्साहित गर्दै स्वतन्त्र र व्यावसायिक पत्रकारिताको सुरुवात गर्ने उदेश्यले शैलुङ मिडिया हाउस प्रा.लि को स्थापना भएको छ । पत्रकारिता विषयमा स्नातकोत्तर तथा एमफिल तह सम्मको अध्यान पुरा गरि सकेका पत्रकारहरुको लगानीमा स्थापना भएको शैलुङ मिडिया हाउस प्रा.लि. आगामी वर्षहरुमा नेपाली सञ्चार क्षेत्रको उत्कृष्ठ र उदाहरणीय सञ्चार गृह बन्ने योजना सहित स्थापना भएको हो । आम नागरिकलाई सुचना र समाचारको माध्यमबाट सुसुचित गर्दै, राज्यमा हुने भ्रष्टचार, अनियमितता र गैरकानुनी गतिविधिमा खाबरदारी गर्ने, मुलुकलाई कानुनी राज्य स्थापना गर्न अरोहत्र खटिने र आम जनताको समस्या र गुनासोहरुलाई सरकार सम्म पुर्याउने मध्यामको रुपमा कार्यसम्पादन गर्ने गरि पहिलो चरणमा शैलुङ मिडिया हाउस प्रा.लि ले पहिलोसुचना डटकम (www.Pahilosuchana.com) नामक समाचार पोर्टल सञ्चालनमा ल्याएको छ । आगामी दिनमा तपाईहरुको साथ र सहयोगको अपेक्षा सहित आज २०७८/०४/०१ गतेबाट संचालनमा आएको यस समाचार पोर्टल मार्फत तपाईहरुले सत्य, तथ्य र निश्पक्षा सहितको सुचना जतिसक्दो चाडो पढ्न पाउनुहुनेछ । समाजमा हुने हरेक खालको घट्नालाई यथार्थपरक र निश्पक्ष ढंगले पत्रकारिताको सिद्धान्त र मर्यादामा रहेर हामी तपाईहरुलाई सधैभरि सुसुचित गरिरहने वाचा गर्न चाहन्छौ ।

                                                                                                        सम्पादकीय टिम
पहिलो सुचना डट कम   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook