असोज ६, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा बुधबार ६ म्याग्नेच्युडकाे भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भुकम्पको धक्का भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म महसुस भएको थियो । ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो ।
जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो। अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ। यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
सामाजिक सन्जालहरुमा आवासीय घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भएका छन् । तर क्षतिको विवरण भने आउन बाँकि नै रहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भूकम्प गएको क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ। केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ। भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने भन्दै शान्त्वना दिइएको छ ।
