१७ फागुन , काठमाडौं । संयुक्त राज्य एमिरेट्स (यूएई)मा इरानले प्रहार गरेका ड्रोनका कारण एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयका अनुसार ५४१ वटा इरानी ड्रोनमध्ये ५०६ वटालाई आकाशमै निष्क्रिय पारिएको थियो भने ३५ वटा जमिनमा खसेका थिए। ती घटनामा परी नेपाल, पाकिस्तान र बाङ्ग्लादेशका एक-एक जनाको ज्यान गएको हो। रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत् जारी गरेको एउटा विज्ञप्तिमा ड्रोन आक्रमणमा परी विभिन्न देशका ५८ जनालाई सामान्य चोटपटक लागेको विवरण उल्लेख छ। यूएईमा नेपालीसहित लाखौँ दक्षिण एशियाली कामदार छन्।
यूएईमा मृत्यु भएका नेपाली नागरिकको परिचय खुल्न बाँकी नै छ। यद्यपि उनी त्यहाँ वैदेशिक रोजगारीको सिलसिलामा पुगेको ठानिएको छ।
यूएईका अनुसार इरानले आक्रमण गर्न थालेयता सोमवार साँझसम्म यूएईलाई लक्ष्य बनाई १६५ वटा बलिस्टिक क्षेप्यास्त्र, दुइटा क्रूज क्षेप्यास्त्र र इरानी ड्रोनहरू प्रहार भएका छन्। तीमध्ये केहीलाई वायुसेना र हवाई प्रतिरक्षा फौजले निष्क्रिय पारिदिएका छन्।
संयुक्त राज्य अमेरिका र इजरेलले इरानमाथि शनिवार आक्रमण गरेपछि इरानले इजरेलसहित मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविर र अमेरिकाका साझेदार राष्ट्रमा जबाफी हमला गरेको छ।
