भाद्र २३, काठमाडौं । नेकपा एमालेको नाराबाजीका कारण राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। बैठकमा एमाले सांसदहरूले आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरूले सर्वोच्च अदालतलमा विचारधीन मुद्दा संसदमा ल्याएको भन्दै सभामुख अग्नि सापकोटाले आक्रोश पोखेका थिए।
नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उनले बताए । त्यसपछि एमाले सांसदहरु सिटबाट उठेका थिए ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन माग गरे । तर एमाले सांसदहरु सिटमा उठिरहेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
