ललितपुर ज्याकरान्डा फूलले ढपक्क, ज्याकारान्डा संरक्षण गर्दै महानगर

Byपहिलो सुचना

२०८२ बैशाख २६, शुक्रबार १४:४५ २०८२ बैशाख २६, शुक्रबार १४:४५ २०८२ बैशाख २६, शुक्रबार १४:४५

वैशाख २६, काठमाडौँ । ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर बैजनी रङको ज्याकारान्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ । 

चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भिडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महत बताउँछन् । ‘ हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवती रमाइरहेको देख्दा खुसी लाग्छ,’ उनले भने । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भिडभाड हुने गरेको छ ।

चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन् । चक्रपथलाई आकर्षक बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ ।

आउने दिनमा चक्रपथको सुन्दरता बढाउन ज्याकरान्डा संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए ।

वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको ज्याकरान्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको निर्मल लामाले बताए । ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौँ झन् सुन्दर देखिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook