स्वाइन फिभरले १८ बंगुर मरेपछि ओसारपसारमा रोक

Byपहिलो सुचना

२०८१ फाल्गुन ८, बिहीबार ०७:०२ २०८१ फाल्गुन ८, बिहीबार ०७:०२ २०८१ फाल्गुन ८, बिहीबार ०७:०२

फागुन ८, तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बंगुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बंगुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । 

जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बंगुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजेश चौधरीले जानकारी दिए। बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बंगुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उनले बताए ।

उनले भने, ‘केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बंगुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बंगुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बंगुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।’

यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बंगुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook