साउन २५, अमेरिका । ३२ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियाको आयोजनामा आयोजित “विश्व आदिवासी दिवस एवं शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। क्यालिफोर्नियाको रिचमण्ड मरिनामा आइतबार आयोजित कार्यक्रममा क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधा रणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदानसँगै आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकार संरक्षण र पुस्तान्तरणका विषयमा अन्तरक्रिया गरिएको थियो।
विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो समुदायको मौलिक संस्कृति, भेषभूषा, भाषा र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई त्यससँग जोड्नुपर्नेमा जोड दिएका थिए। प्रवासमा रहेर पनि नेपाली आदिवासी जनजातिहरूको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई निरन्तरता दिनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न समुदायको सांस्कृतिक झल्को प्रस्तुत हुनुका साथै सहभागीहरूबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान र सामुदायिक सहकार्यका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विश्व आदिवासी दिवस केवल उत्सव मनाउने दिन मात्र नभई आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र अस्तित्वका विषयमा सचेतना फैलाउने महत्वपूर्ण अवसर भएको बताएका थिए।
नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, अतिथि, कलाकार, स्वयंसेवक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेको छ। रिचमण्ड मरिनाको सुन्दर वातावरणमा आयोजित कार्यक्रमले क्यालिफोर्नियामा रहेका नेपाली आदिवासी जनजातिहरूबीचको आपसी एकता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको आयोजकहरूको भनाइ छ।
