मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

Byपहिलो सुचना

२०८१ माघ १, मंगलवार ०७:५८ २०८१ माघ १, मंगलवार ०७:५८ २०८१ माघ १, मंगलवार ०७:५८

माघ १, म्याग्दी । यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे संक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन्। जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। अल्पसंख्यक छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन्।  

साउने संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर स‌ंघका सचिव खम थापामगरले बताए।

‘माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ,’ उनले भने, ‘प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्।’

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। मगर बस्तीमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको संघका सचिव थापामगरले बताए। चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे संक्रान्तिमा माइतीघर जान्छन्।

यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन्। अस्ट्रेलियाबाट माघे संक्रान्ति मनाउन परिवारसहित जन्मथलो मंगला गाउँपालिका–१ तुसारेपानी आएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुराएको बताए।

माघे संक्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ। म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे संक्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन्।

जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे संक्रान्ति मेलामा आउने गर्दथे।

बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। ‘त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे संक्रान्तिको मेला किनमेलको माध्यम थियो,’ ८० वर्षीय श्रेष्ठले भने, ‘युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे।’

समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ। पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धन मा युवाको सक्रियता बढेको उनले बताए।

हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ। संघअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सुरु भएको हो।

परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook