मंसिर १२, चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकालाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी सुरु गरिएको हो ।
उनले भने “यसरी उपचार गर्दा बच्चाको रोग छिटो निको हुन्छ ।” अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाइ छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा सुरु गरिएको उनले बताए ।
विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उनको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ शय्या छन् ।
अस्पताल आफैंले सामग्री खरिद गरी सुरु गरेसँगै विभिन्न दाताले थप सामग्री सहयोग गर्ने वचन दिएको उनले बताए । अस्पतालमा एनआइसियू, पिआईसियु सेवासमेत छ । यो सङ्घीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।
