चार महिनामा साढे चार खर्ब व्यापार घाटा

Byपहिलो सुचना

२०८१ मंसिर ८, शनिबार १७:१६ २०८१ मंसिर ८, शनिबार १७:१६ २०८१ मंसिर ८, शनिबार १७:१६

मंसिर ८, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ घाटा देखिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग एक खर्ब तीन अर्ब १८ करोड २५ लाख रुपैयाँको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा देखिएको छ ।

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै १५ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्यांकबाट देखिन्छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ । चार महिनामा तीन अर्ब ६० करोड आठ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल तीन अर्ब ४१ करोड रुपैयाँ, चिया दुई अर्ब २१ करोड रुपैयाँ र अलैँची एक अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook