भदौ ६, काठमाडौं । नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ ।
यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो । बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो । यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष छन् । पुरूष ८२, महिला ५५, बालक २१ र बालिका ३५ जनाको मृत्यु भएको प्रधान कार्यालयले जनाएको छ ।
दुई महिनाको अवधिमा भएको विभिन्न प्रकारका विपदका घटनाबाट २४६ जना घाइते भएका छन् । जसमध्ये १०९ जना पुरूष घाइते छन् । ७६ जना महिला, २१ जना बालक र ३० जना बालिका घाइते छन् । त्यस्तै विपदका घटनामा परी ४९ जना मानिसहरू बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत असार २८ गते चितवनको मुग्लिन सडकखण्डमा भरतपुर महानगरपालिका-२९ सिमलतालमा खसेको दुई वटा बसमा सवार ४२ जना अझै बेपत्ता छन् । त्यहाँ बेपत्ता भएकामध्ये २४ वटा शव फेला परेको थियो । २० जनाको सनाखत भई परिवारले बुझिसकेका छन् भने ४ जनाको सनाखत हुन बाँकी छ । मानवीय क्षतिसँगै चौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
चौपाया मात्रै ८७५ वटा, ३३९ वटा घर, ११९ वटा गोठमा क्षति र १२२१ वटा घर विस्थापित भएका छन् । ५ वटा विद्यालय, ५१ वटा पुल र दुई वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा चार जना मानिस घाइते भएका छन् । ६ वटा घर र ३ वटा गोठमा क्षति पुगेको छ भने ३१ परिवार विस्थापित भएका छन् ।
