सौर्य र नियामकको गम्भीर लापरबाहीले ठूलो मानवीय क्षति

Byपहिलो सुचना

२०८१ श्रावण १०, बिहीबार ११:४५ २०८१ श्रावण १०, बिहीबार ११:४५ २०८१ श्रावण १०, बिहीबार ११:४५

साउन ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्नासाथ भयानक दुर्घटनामा पर्‍यो । क्याप्टेन मनिष शाक्यबाहेक सबै १८ जनाको मृत्यु भयो । शाक्यलाई जीवितै उद्धार गरी अस्पताल लगियो ।

त्रिभुवन विमानस्थल धावनमार्गको ‘जिरोटु’ (कोटेश्वरपट्टि) बाट ‘टुजिरो’ (बौद्धपट्टि) कुदेर उडेको २० देखि २२ सेकेन्डमै जहाज धावनमार्गको दायाँ क्षेत्रमा खस्यो र लगत्तै आगलागी भएर लगभग ध्वस्त हुन पुग्यो । तथ्य के हो भने सौर्यको यो जहाजले न नियमति उडान तालिका अनुसार यात्रु बाकेको थियो, न त्यो यात्रु बोक्ने चार्टर उडान नै थियो ।

अब यहाँनेर यक्ष प्रश्न के उठ्छ भने, यदि नियमित वा चार्टर दुवै उडान थिएन भने त्यस्तो जहाजमा चालक दल (पाइलट र कोपाइलट) तथा प्राविधिक बाहेक त्यति धेरै व्यक्ति किन चढेका थिए ? जहाज धनी सौर्य एयरलाइन्सले भनिसकेको छ– ‘यो जहाज ‘कम्प्लिट चेक’ (सी–चेक) अर्थात् पूर्णमर्मत गर्न पोखरा जाँदै थियो ।’ अझै प्रश्न उठ्छ– ‘अनि, सी–चेकमा जान लागेको जहाजमा प्राविधिक बाहेक असम्बन्धित व्यक्ति किन चढे त ?’ उड्डयन नियम अनुसार मर्मत गर्न जाने जहाजमा प्राविधिक व्यक्तिबाहेक अरू कोही पनि सवार हुन पाउँदैन ।

खासमा सौर्य एयरलाइन्सले असम्बन्धित व्यक्ति जहाजमा राखेर सुरुमै गल्ती गरिदियो । तर, उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सौर्यको गल्तीलाई नदेखे झैं गरिदिँदा यति ठूलो मानवीय क्षति हुन पुगेको हो । उड्डयन विज्ञहरूका अनुसार मर्मत गर्न लगिने जहाजमा को–को जाँदैछन् भनेर नियामकले एकपल्ट ‘चेक’ चाहिँ गर्नुपर्थ्यो । तर, नियामकले ध्यान नदिँदा भयानक दुर्घटना हुन पुग्यो । ध्यान दिएको भए पनि दुर्घटना टर्थेन, तर यति ठूलो मानवीय क्षति हुने थिएन ।

‘सौर्य एयरलाइन्सको यो जहाजलाई हामीले सी–चेकमा जान ‘फेरी फ्लाइट’ गर्ने अनुमति दिएका थियौं,’ मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘यस्तो उडानमा चालकदल र इन्जिनियर वा प्राविधिक कर्मचारी बाहेक अरू यात्रु लानै पाइँदैन ।’ भुलका अनुसार मर्मतमा लगिने जहाजलाई मर्मत गर्ने ठाउँसम्म उडाएर लैजानुलाई ‘फेरी फ्लाइट’ भनिन्छ । यस्तो उडानमा जहाज उडाउने क्याप्टेन र कोपाइलट (चालकदल) तथा आवश्यक प्राविधिक कर्मचारी (इन्जिनियर) दुई–तीन जनाबाहेक अरू यात्रु राख्नै पाइँदैन ।

प्राधिकरणका अनुसार दर्ता नम्बर ‘९एन–एएमई’ भएको सौर्यको यो जहाजमा कुनै प्राविधिक समस्या थिएन । यो जहाजको उडानयोग्य (एयरवर्दिनेस) अवधि सन् २०२५ सम्म थियो र उडान गर्ने समय १ सय १९ घण्टा बाँकी थियो । त्यसमाथि सौर्य एयरलाइन्स आफ्नो जहाज आफैं मर्मत गर्ने ‘एमआरओ’ अनुमति प्राप्त कम्पनी हो । एमआरओ भनेको ‘मेन्टिनेन्स रिपेयर ओभरहौल’ हो ।कुनै पनि जहाज ५ हजार घण्टा उडेपछि सी–चेक गर्नुपर्छ । त्यसका लागि उडाएर सम्बन्धित ठाउँ लानुपर्छ । त्यस्तो उडानमा टिकट काटेर वा नकाटी असम्बन्धित व्यक्ति चढाउन पाइँदैन ।

‘अब फेरी फ्लाइटमा नियम अनुसार तोकिएको व्यक्तिबाहेक को–को जान्छन् भनेर हामीले सोध्दैनौं,’ प्राधिकरणका सूचना अधिकारी भुल भन्छन्, ‘किनभने, नियममै नभएको कुरा सोध्ने भन्ने हुँदैन । यो उडानमा पनि को–को जान आवश्यक थियो वा थिएन भन्ने अब छानबिन आयोगले अनुसन्धान गर्ला ।’ प्राधिकरणका पूर्वमहानिर्देशक तथा पर्यटन मन्त्रालयका पूर्वसविच यज्ञप्रसाद गौतम मर्मतमा जाने जहाजको फेरी फ्लाइटमा वरिष्ठ चालकदल र प्राविधिकमात्र जाने नियम रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook