जेठ २३, नयाँदिल्ली । भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ ।
गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । त्यहाँ कंग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य दल र स्वतन्त्रहरूले उम्मेदवारी फिर्ता लिएका थिए । यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया गठबन्धन बनाएर चुनावमा होमिएका थिए । चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी गरेका थिए । विभिन्न एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले चार सय हाराहारीमा सिट ल्याउने दाबी गरेका थिए । परिणाम आउँदा भने ती सबै दाबीले फेल खाएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार ५४३ क्षेत्रको नतिजा आउँदा एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ । १७ सिट अरू दलहरूले जितेका छन् । यो भनेको भाजपा नेतृत्वको एनडिएले जितेको सिट अघिल्लो चुनावमा भन्दा ५७ सिट कम हो ।
अघिल्लो निर्वाचनमा एनडिएले ३५२ सिट ल्याउँदा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो । यसपालि भाजपाले २४० सिट मात्रै ल्याएको छ । इन्डिया गठबन्धनले भने यसपालि १३७ सिट बढाएको छ । अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो ।यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ । अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो ।
भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिट जितेका छन् । आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन् । बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ ।
इन्डिया गठबन्धनले यसपालि सरकार बनाउन पहल गर्ने कि विपक्षमै बस्ने भन्ने निर्णय गर्न आज बैठक बस्दैछ ।
