उपेन्द्र यादव र राज्यमन्त्री कार्कीले छाडे सरकार

Byपहिलो सुचना

२०८१ बैशाख ३१, सोमबार ११:३९ २०८१ बैशाख ३१, सोमबार ११:३९ २०८१ बैशाख ३१, सोमबार ११:३९

बैषाख ३१ गते काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । उनी विगत दुई महिनादेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा थिए । पहिलो सुचनासँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरूले सरकार छाडेको बताए । जसपा नेपालबाट संघीय सरकारमा यादव र वन तथा वातावरण राज्यमन्त्रीमा सांसद दीपक कार्की सामेल थिए ।

जसपा नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका थिए। वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन् । ‘विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा पदबाट राजीनामा दिन चाहन्छु,’ यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ । जनता समाजवादी पार्टी नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद अलगिएर जनता समाजवादी पार्टी गठन गरेका थिए ।

जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आइतबार बाहिरिएका थिए । जसपा नेपालले महाधिवेशन र बदलिएको राजनीतिक घटनाक्रमबारे सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ । केन्द्रीय समिति बैठकअघि नै जसपाका दुई मन्त्रीले राजीनामा बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook