कांग्रेसमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग

Byपहिलो सुचना

२०७८ भाद्र ६, आईतवार ११:३८ २०७८ भाद्र ६, आईतवार ११:३८ २०७८ भाद्र ६, आईतवार ११:३८

भाद्र ६, काठमाडौँ। नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन्।

काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्न माग गरेका हुन्।

सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको माग छ।

साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ।

उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाइ भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने बैठकले निर्णय गरेको तर क्रियाशील सदस्यताको विवाद टुङ्गो लागिसकेको छैन।

प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्यका बारेमा शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नेताहरू सिटौला, रिजाल र लेखकसहित छलफल भएको थियो।

क्रियाशील सदस्यताको बाँकी काम अन्तिम चरणमा पुगेको र आइतबारसम्म सम्पन्न हुने नेता लेखकले बताए। साउन ३० गतेको केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको थियो।

उक्त कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ।

कांग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook