माघ २८, काठमाडौं । पाकिस्तानमा मतगणनता सम्पन्न भएको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो।
एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ । २६४ सिटको नतिजा आउँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको छ । पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यसपालि त्यहाँ नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नेश्नलिस्ट (पिएमएल-एन)लाई पाकिस्तानी सेनाको समर्थन थियो । सेनाको समर्थनका बाबजुद उक्त दलले पनि बहुमत पाउन सकेन । पिएमएल-एनले ७५ सिट ल्याएको छ । त्यस्तो बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ५४ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ ।
चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ । पञ्जाबमा २९७ सिटमध्ये १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यहाँ पिएमल- एनले १३७ सिट जितेको छ भने पिपिपीले १० सिट मात्रै ल्याएको छ । सिन्धमा १३० मध्ये पिपिपीले ८४ सिट ल्याएको छ । यहाँ मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट जितेक छन् । खेबर पख्तुन्ख्वामा १२२ मध्ये ९० सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्। बलोचिस्तानमा ५१ सिटमध्ये पिपिपीले ११, पिएमएल-एनले १०, जमियत उलमा-इ-इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ ।
यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको समेत भनिएको छ । अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेको छ। त्यहाँ मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो । नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि कुटपिट भएको समाचारहरू सार्वजनिक भएको थियो ।
केन्द्रमा कुनैपनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन । पञ्जाब र बलोचिस्तान दुई प्रान्तको अवस्था पनि त्यस्तै छ । सिन्धमा पिपिपी र खेबरमा स्वतन्त्र उम्मेदवारहरूले बहुमत प्राप्त गरेको छ।
