राष्ट्रपतिबाट काठमाडौं विश्वविद्यालयमा एनटिआइसी भवन उद्घाटन

Byपहिलो सुचना

२०८० आश्विन २४, बुधबार २०:०८ २०८० आश्विन २४, बुधबार २०:०८ २०८० आश्विन २४, बुधबार २०:०८

असोज २४, धुलिखेल । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) भवनको बुधबार उद्घाटन गरेका छन्।

नेपालका लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरूआत गर्ने प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौं विश्वविद्यालय अन्तर्गतको केन्द्रले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यतासामु खडा गरेका चुनौती पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज-अनुसन्धान आवश्यक भएको उनले बताए।

केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज-अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) मार्फत् दक्षिण कोरियाको अनुदान सहयोगमा यो केन्द्र निर्माण गरिएको हो। यसका निम्ति अत्याधुनिक उपकरण कोरिया सरकारले नै उपलब्ध गराएको हो।

उक्त अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तेयोङले नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर गणतन्त्र कोरिया र नेपालबीचको मैत्रीको प्रतीकका रूपमा रहने बताए। कोरिया सरकारको सहयोगमा सञ्चालित परियोजनाले प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास परियोजना सञ्चालन गर्न नेपाललाई सहज हुने विश्वास पनि उनले व्यक्त गरे।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले नवनिर्मित भवन ४० करोड रूपैयाँमा बनेको तथा २२ करोड रूपैयाँ बराबरका उपकरण केन्द्रमा रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook