असोज १३, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । चीनको औपचारिक भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहाल शनिबार बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री दाहाल शनिबार बिहान छेन्दुबाट नेपाल फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका थिए ।
शनिबार बिहान प्रधानमन्त्री दाहाललाई छेन्दुमा सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलमा बिदाई गरेका थिए ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी भई न्युयोर्कबाटै चीनको ८ दिने औपचारिक भ्रमणमा गएका हुन् । १९औं एसियाली खेलकुद्को उद्घाटन समारोहमा भाग लिन न्युयोर्कबाट चीनको हाङचउ पुगेका थिए । प्रधानमन्त्री दाहालले हाङचउमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग एक्लाएक्लै र द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री दाहाल बेइजिङमा विभिन्न कार्यक्रममा समेत सहभागी भए । प्रधानमन्त्री दाहाल छोङछिङ र मानसरोवर हुँदै छेन्दु आइपुगेका हुन् ।
