ज्ञानकाजी तामाङ, साउन २९, सेनफ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपाली आदिवासी जनजाति समुदायले २९ औं विश्व आदिवासी जनजाति दिवस भव्य रुपले मनाएका छन् ।
“भाषा हराए व्यक्ति हराउँछ, धर्म र रिमठिम हराए पहिचान हराउँछ, अनि संस्कृति हराए जाति हराउँछ, त्यसैले भाषा, धर्म, रिमठिम र संस्कृति जोगाउन आजैदेखि लागौ” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको आयोजनामा ब्रक्लिको एलसिरेटोमा सम्पन्न सो कार्यक्रममा सामुदायिक संगठनहरुको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा बोल्दै पुर्व प्रतिनिधिसभा सदस्य सुरेन्द्र फोम्बोले आदिवासी जनजातिको हक अधिकार संरक्षण गर्नु भनेको अन्य जातिको पहिचान बिगार्नु नभएको बताए । उनले अगाडि थपे, “पहिचानको आन्दोलन गरिरहदा खस आर्य समुदायले आफ्नो पहिचान गुम्ने भनेर गलत व्याख्या गरेको पाइयो जुन गलत हो । हामीले आफ्नो भाषा, धर्म, लिपी, रिमठिम, संस्कृतिको संरक्षण गर्न पाउ भन्दा कसरी अरुको पहिचान हराउँछ ? यो सबै एकल जातीय, एकल धर्मको सोचमा बनेको राज्यसत्ताको सोचाइ मात्र हो । त्यसैले हामीले हाम्रो पहिचान संरक्षण गर्न पाउनुपर्छ ।”
कार्यक्रममा बोल्दै नेपाल सरकार क्यालिफोर्नियाका लागि पर्यटनदुत बिजय चौधरीले आदिवासी जनजाती समुदायको व्यक्ति सरकारको माथिल्लो तहमा पुग्न अत्यन्तै कठिनाइ हुने र आफू पर्यटन दुतमा नियुक्त हुन पनि निकै संघर्ष गर्नु परेको बताए ।
नेपाली जनजातिहरुको साझा समस्या भनेको आफ्नो परदेशी भु-भागमा आफ्नो भाषा,रिमठिम र संस्कृतिलाई पुस्तानतरण गर्दै लैजान नसक्नु रहेको नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले बताए । उनले भने, “जनजातिको भाषा, संस्कार र रिमठिम संरक्षणको लागि सबै जनजाति समुदाय एक ठाउँमा उभिनुपर्ने र त्यसको लागि महासंघले जनजातिहरुको पहिचान झल्किने साझा संग्रहालय बनाउने योजना रहेको बताए ।”
सन् १९९४ देखि संयुक्त राष्ट्रसंघले अगस्ट ९ लाई विश्व आदिवासी जनजाति दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । २९ औं विश्व आदिवासी दिवस पनि विश्वभरिका आदिवासी जनजाति समुदायले धुमधामका साथ मनाएर सम्पन्न गरेका छन् ।
कार्यक्रमको झलकहरु :-





