भारतबाट सात जना बालबालिकाको उद्धार

Byपहिलो सुचना

२०८० श्रावण २८, आईतवार १५:४५ २०८० श्रावण २८, आईतवार १५:४५ २०८० श्रावण २८, आईतवार १५:४५

साउन २८, रुपन्देही । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ।

विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो। 

दार्चुलाकी १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका, रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो।

ती बालबालिका विभिन्न बाहना तथा प्रलोभनमा भारत पुर्‍याइएको थियो।

१ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो।

केआइएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीनजना बालकको परिवारसँग पुनर्मिलन गराइएको छ।

एक जना बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ। तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ।

‘प्रहरी तथा भारतस्थित नेपाली दूतावासले केआइएन इन्डियालाई केश फरवार्ड गर्नुहुन्छ। त्यही आधारमा काम गर्छौं’, निर्देशक जोशीले भने, ‘भेटिनेभन्दा नभेटिने बालबालिकाको संख्या धेरै छ।’ 

सन् २०१८ देखि अहिलेसम्म केआइएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ।

‘भारत धेरै जनसंख्या भएकाले कुन क्षेत्रमा छ भनेर पत्ता लगाउन निकै समस्या हुन्छ। भारतीय प्रहरीको सहयोगमा उद्धारको काम गरिरहेका छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook