असार ७, तेगुसिगाल्पा । मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।
मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकनपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले भने, ‘मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई संगठित अपराधले ‘अपहरण’ गरेको छ ।’
होन्डुरसमा यस्तै घटना सन् २०१९ मा पनि भएको थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो । होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक संगठनहरू ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडका क्रममा धेरै कैदीहरूको हत्या गरिएको छ । (रासस)
