हेवाखेलाको बाढीले सात घर बगायो

Byपहिलो सुचना

२०८० असार ३, आईतवार ०८:५३ २०८० असार ३, आईतवार ०८:५३ २०८० असार ३, आईतवार ०८:५३

असार ३, किमाथांका । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ।

अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। 

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता, मेची राजमार्ग अवरुद्ध
यता गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्।

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए। वर्षात्ले  मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ। याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook