बैंकहरु सहर केन्द्रित हुँदा ग्रामीण अर्थतन्त्रमा चुनौतीः मुख्यमन्त्री शर्मा

Byपहिलो सुचना

२०८० जेष्ठ ३०, मंगलवार ०७:२६ २०८० जेष्ठ ३०, मंगलवार ०७:२६ २०८० जेष्ठ ३०, मंगलवार ०७:२६

जेठ २९, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताउनुभएको छ ।

नागरिक लगानीकोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भूगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रा प्राकृतिक स्रोतसाधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरू ग्रामीणस्तरसम्म पुग्नुपर्ने थियो । तर त्यसो भएको छैन । लगानी उत्पादन भए पनि उत्पादनभन्दा बाहिर भएका कारण ग्रामीण अर्थतन्त्र खस्किँदो अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाहरूले हाम्रा लगानीका क्षेत्रहरू चिन्न सकेका छैनन् । नागरिक र राज्यको लगानी सुरक्षित गर्ने र सही ठाउँमा लगानी गरेर उत्पादन वृद्धि गर्नेतिर नागरिक लगानी कोष लाग्नुपर्छ ।”

उहाँले प्रदेश सरकारले समृद्धि कर्णाली अभियान थालेर वर्षमा १० हजार बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेकाले त्यसमा पनि कोषको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको अभियानमा सबै सरोकारवाला निकायहरू एकबद्ध भएर लागौँ । ग्रामीण उत्पादनहरू वृद्धि गरी बेरोजागरी समस्या समाधान गरी मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुछ । कर्णालीका धेरै प्राकृतिक स्रोत र साधनको सदुपयोग भएको छैन । त्यसतर्फ प्रदेश सरकार लागिरहेको छ ।”

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिक लगानी कोषले सरकारी जागिर, निजी क्षेत्रमा काम गर्ने र विदेशमा रहेका समेतको बचतलाई प्राथमिकता दिएर आर्थिक जोखिम व्यवस्थापनमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले अब नागरिक लगानी कोषसँग सम्बन्धित कामका लागि कोही कसैले पनि केन्द्रीय राजधानी पुग्नुपर्ने समस्याको समाधान भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि कर्णालीका सेवाग्राहीहरूले नागरिक लगानी कोषसँग सेवा लिन काठमाडौँ जानुपर्ने थियो । अब कोषसँग सम्बन्धित सबै कामहरू कर्णालीमै हुने भए । सेवाग्राहीलाई निकै सहजता हुने भयो ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook