संघीय संसदको संयुक्त बैठक बस्दै

Byपहिलो सुचना

२०८० जेष्ठ ५, शुक्रबार ०७:०५ २०८० जेष्ठ ५, शुक्रबार ०७:०५ २०८० जेष्ठ ५, शुक्रबार ०७:०५

जेठ ५, काठमाडौं । संघीय संसदको संयुक्त बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै छन् । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

यसअघि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने कि राष्ट्रपतिले पढ्ने भन्ने अन्योल थियो । बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने जानकारी दिएको थियो । 

राष्ट्रपति चयन भएपछि सङ्घीय संसदमा पौडेलेले पहिलो सम्बोधन गर्न लागेका हुन् ।  

संसदमा राष्ट्रपति उपस्थित हुँदा  राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि,  सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन् ।

संयुक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । 

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook