सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको संक्रमण

Byपहिलो सुचना

२०८० जेष्ठ २, मंगलवार १३:३० २०८० जेष्ठ २, मंगलवार १३:३० २०८० जेष्ठ २, मंगलवार १३:३०

जेठ २, सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ ।

जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन् ।

कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पशुमा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ ।

हालसम्म सुनकोसी गाउँपालिकामा भने कार्पस भाइरसको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिए ।

सबैभन्दा बढी यस रोगको सङ्क्रमण तीनपाटन गाउँपालिकामा छ । रोगको सङ्क्रमण हुने र मर्नेको सङ्ख्या तीनपाटन गाउँपालिकामा अत्यधिक छ । तीनपाटनमा हालसम्म २३ गाई मरेका छन् ।

दुई हजार तीन सय ३६ पशु सङ्क्रमित बनेका छन् । विशेषगरी गाईमा यो रोगको सङ्क्रमण बढी देखिएको थापाले जानकारी दिनुभयो । रोगका कारण आठ हजार दुई सय ६२ पशु बिरामी भएका छन् ।

फिक्कलमा एक सय ६० पशुमा सङ्क्रमण छ भने एउटा मरेको थापाले  जानकारी दिनुभयो । गोलञ्जोरमा तीन सय ३५ पशुमा सङ्क्रमण र नौवटा पशुको मृत्यु भएको छ ।

हरिहरपुरगढीमा दुई सय १६ पशुमा सङ्क्रमण र एकको मृत्यु भएको छ । यस्तै घ्याङलेखमा ४७ पशुमा सङ्क्रमण देखिएको छ ।

यो रोगका कारण साना बाच्छाबाच्छी र कमजोर खालका गाई बढी मर्ने गरेको थापाले बताए । उनले भने, ‘रोग प्रतिरक्षा शक्ति कमजोर भएका गाईमा रोगको जोखिम बढी भएको पाइएको छ ।’ रोग लाग्न नदिन रोग नलागेका गाईलाई रोगविरुद्धको खोप लगाउन सकिने थापा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook