बैशाख १८, काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ। हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ। त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ।
आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन्। उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन्।
जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो। सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताउनुभयो।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन्।
सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ। कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ।
नेपालसहित ६५ देशका आरोही
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन्।
सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०,३, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन्। सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो।
सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ। सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले आरोहण गरेका छन्।
तथ्याङ्कअनुसार हालसम्म तीन सयभन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन्। आरोहणलाई व्यवस्थित गर्न पर्यटन विभागले सगरमाथाको आधारशिविरमा सम्पर्क कार्यालय खोलेर आवश्यक कर्मचारी खटाएको छ।
बुधबारदेखि मौसम सफा हुने
पश्चिमी वायुको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभावले देशभरको मौसम आइतबारदेखि बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो मौसम प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुने र बुधबारदेखि केही कमजोर हुने जानकारी गराउनुभयो। “वर्षा मङ्गलबार पहाडमा धेरै तराई केही घट्छ भने आज बेलुकादेखि कम हुँदै जानेछ। बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा देखिन्छ”, उहाँले भन्नुभयो। मौसम बदलीसँगै भएको वर्षाले हिमाली क्षेत्रको पर्यटनमा अवरोध पुर्याएको छ।
महाशाखाले पछिल्लो मौसमी आवस्थाबारे सम्बन्धित निकायमा खबर गरिसकेको जनाएको छ। महाशाखाले गरेको मौसमी विश्लेषणअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने देशैभरका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरिको सम्भावनासमेत छ।
महाशाखाले आगामी २४ घण्टाका लागि देशैभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्र प्रभावित हुनसक्ने भन्दै त्यसबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ।
